- Emailmanmohanmf@gmail.com
- Contact9851198246
मनमोहन स्मृति प्रतिस्ठानको आयोजनामा काठमाडौंमा सुरु भएको दुईदिने “International Conference on Senior Citizens” को पहिलो दिन भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ । ज्येष्ठ नागरिकहरूको अवस्था, आवश्यकता, सामाजिक सुरक्षा, सम्मान तथा बदलिँदो जनसांख्यिक अवस्थाका विषयमा केन्द्रित सम्मेलनमा नेपालसहित बंगलादेश, चीन, भारत र जापानका विज्ञ, अनुसन्धानकर्ता, सामाजिक अभियन्ता तथा विभिन्न निकायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
सम्मेलनको उद्घाटन सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको थियो । उद्घाटन सत्रमा मनमोहन स्मृति प्रतिस्ठानका अध्यक्ष ईश्वर पोखरेलको अध्यक्षता रहेको थियो भने फाउण्डेशनकी सदस्य शान्ति अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
उद्घाटन समारोहमा ज्येष्ठ नागरिकको सम्मानस्वरूप टोखाका ज्येष्ठ नागरिक जनक श्रेष्ठ (देय थकाली) लाई सम्मान गरिएको थियो भने सहभागीहरूले ज्येष्ठ नागरिकहरूको अनुभव, ज्ञान र योगदानलाई समाजको महत्वपूर्ण सम्पत्तिका रूपमा संरक्षण तथा सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन मन्तव्यका क्रममा ज्येष्ठ नागरिकहरू समाजका मार्गदर्शक र अनुभवका भण्डार भएको उल्लेख गर्दै उनीहरूको सम्मान, स्वास्थ्य सुरक्षा तथा सामाजिक सहभागितालाई सुनिश्चित गर्नु राज्यको दायित्व भएको बताउनुभयो । उहाँले परम्परागत पारिवारिक संरचनामा आएको परिवर्तनसँगै ज्येष्ठ नागरिकका चुनौतीहरू बढ्दै गएको उल्लेख गर्दै राज्य, समाज र परिवारले संयुक्त रूपमा जिम्मेवारी निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो ।
पहिलो प्राविधिक सत्र “बृद्धावस्था : अवस्था र आवश्यकता” विषयमा केन्द्रित रहेको थियो । उक्त सत्रको सहजीकरण विधान आचार्यले गर्नुभएको थियो । सत्रमा चीनको हुनान विश्वविद्यालयसँग सम्बन्धित डा. जिङचेन सिएले ज्येष्ठ नागरिकको अवस्था र आवश्यकतासम्बन्धी प्रस्तुति दिनुभएको थियो । त्यसैगरी रमेशबाबु काफ्ले र तारा कुमारी काफ्लेले ज्येष्ठ नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्य, पारिवारिक सहयोग र सम्मानपूर्ण जीवनयापनका विषयमा धारणा राख्नुभएको थियो । पर्यटन व्यवसायी तथा सामाजिक व्यक्तित्व कर्ण शाक्यले आफ्ना अनुभव प्रस्तुत गर्दै ज्येष्ठ नागरिकहरूको सक्रियता र सकारात्मक सोच समाजका लागि प्रेरणादायी हुने बताउनुभयो ।
दोस्रो सत्र “बढ्दो बुढ्यौली र राज्यका चुनौतीहरू” विषयमा केन्द्रित रहेको थियो । उक्त सत्रको सहजीकरण डा. विष्णुराज उप्रेतीले गर्नुभएको थियो । जापानको National Institute of Population and Social Security Research (IPSS) की निर्देशक रेको हायाशीले विश्वव्यापी रूपमा बढ्दो वृद्ध जनसंख्या र त्यसले राज्य संरचना, सामाजिक सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका विषयमा प्रस्तुति दिनुभएको थियो ।
त्यसैगरी भूमिदत्त पौडेल, एजिङ नेपालकी सञ्जु थापा मगर तथा प्रा. गणेशमान गुरुङले नेपालमा बढ्दो ज्येष्ठ नागरिक जनसंख्या, सामाजिक सुरक्षा प्रणाली, पारिवारिक संरचनामा आएको परिवर्तन तथा राज्यले सामना गर्नुपर्ने चुनौतीका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले विशेष वक्ताका रूपमा सम्बोधन गर्दै ज्येष्ठ नागरिकमैत्री नीति निर्माण र कार्यान्वयनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
सम्मेलनका विभिन्न सत्रहरूमा सहभागी वक्ताहरूले ज्येष्ठ नागरिकहरूको सम्मान, सुरक्षा, स्वास्थ्य सेवा, सामाजिक सहभागिता तथा अनुभवको संरक्षणलाई प्राथमिकतामा राख्दै राज्य, समाज र परिवारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । उनीहरूले ज्येष्ठ नागरिकहरूलाई बोझका रूपमा नभई अनुभव, ज्ञान र संस्कारका धनी व्यक्तिका रूपमा हेर्नुपर्ने धारणा व्यक्त गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विज्ञहरूको सहभागिताले सम्मेलनलाई थप प्रभावकारी र उपलब्धिमूलक बनाएको छ ।