मनमोहन अधिकारीको १०५औँ जन्मजयन्तीमा ज्येष्ठ नागरिक संवाद कार्यक्रम सम्पन्न

मनमोहन स्मृति प्रतिष्ठानको आयोजनामा पूर्व प्रधानमन्त्री तथा कम्युनिष्ट आन्दोलनका अगुवा नेता मनमोहन अधिकारीको १०५औँ जन्मजयन्तीको अवसरमा २०८२ साल असार १५ गते “ज्येष्ठ नागरिक संवाद” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम बुढानिलकण्ठ नगरपालिकाको सहकार्यमा आयोजना गरिएको हो ।

उक्त कार्यक्रममा ज्येष्ठ नागरिकहरूको सामाजिक अवस्था, अधिकार, सम्मान, स्वास्थ्य तथा संरक्षणका विषयमा व्यापक छलफल गरिएको थियो । समाज निर्माणमा ज्येष्ठ नागरिकहरूले पुर्‍याएको योगदानको कदर गर्दै उनीहरूको अनुभव र भूमिकालाई संस्थागत रूपमा सम्मान गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रममा मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल प्रमुख वक्ताका रूपमा उपस्थित रहनुभएको थियो । उहाँले आफ्नो मन्तव्यमा मनमोहन अधिकारीको लोकतान्त्रिक आन्दोलन, सामाजिक न्याय र राष्ट्र निर्माणप्रतिको योगदानको स्मरण गर्दै उहाँका विचार र आदर्श आज पनि सान्दर्भिक रहेको बताउनुभयो ।

अध्यक्ष पोखरेलले ज्येष्ठ नागरिकहरूको योगदान राष्ट्रको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उनीहरूको सम्मान, संरक्षण र जीवनस्तर सुधारका लागि राज्य, समाज तथा परिवार सबैले साझा रूपमा जिम्मेवारी लिनुपर्ने आवश्यकता औँल्याउनुभयो। साथै, यस्ता कार्यक्रमले नयाँ पुस्तालाई इतिहास, मूल्य र संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमकै अवसरमा विभिन्न क्षेत्रका ५० जना ज्येष्ठ नागरिकहरूलाई सम्मान गरिएको थियो। उनीहरूको दीर्घ सामाजिक योगदान, अनुभव र सेवाको कदरस्वरूप सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा राजनीतिक, सामाजिक, बौद्धिक तथा स्थानीय समुदायका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले ज्येष्ठ नागरिकप्रति सम्मान र सकारात्मक सोच विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए ।